ul/df r}t @)^%, k"0ff{ª\s #!^
* * *
सरण राईको मानव संसारः एउटा सानो चर्चा
सरण राईको मानव संसारः एउटा सानो चर्चा
डा=केदारप्रसाद पौडेल
)= विषय प्रवेश
मानव संसारका लेखक सरण राईले मानव संसार उपन्यास एक प्रति अंग्रेजी विभाग, महेन्द्र ब.क्याम्पस धरानलाई भाद्र २१, २०६७ का दिन प्रदान गर्नु भएपछि यो उपन्यासलाई आद्योपान्त पढेर यसका सवालमा आफूलाई लागेको दुइचार शब्द लेख्नु उपयुक्त हुन्छ भन्ने ठानी यो छोटो चर्चा लेख्ने प्रयास गरिएको छ । यस चर्चालाई तीन भागमा विभाजित गरिएको छ ।
१. सबल पक्ष
जब मान्छे समयले पाक्दै जान्छ तब उसमा उसका भोगाइ र सोंचमा परिवर्तन हुँदै रहन्छ । समयसँगै मान्छे भौतारिन्छ । कसैले आफ्ना कुरा अरूलाई भन्छ । कसैले आफूभित्र गुम्साइ राख्छ । यहाँ मानव संसारका लेखक सरण राई पहिलो समूहमा पर्दछन् । के भयो, के छ र के हुन या गर्न चाहन्छन् । सबथोक भन्छन् ।
सरण राई समयसँग हादैनन् र बुढो हुन्छन् तर उनमा यस्तो जोश र जाँगर आउँछ कि उनी परिकल्पित वृद्धाश्रमलाई आफ्नो लक्ष बनाउँछन् । त्यो मानव संसारसम्मको यात्रामा वास्तविक नामधारी मानिसहरुको घुँइचो देखिन्छ । पर भौतिकवादी चिन्तनभित्र दुइ फरक बस्तुहरुको समागम भए जस्तै मानव संसारभित्र यस प्रकारका प्रशस्त समागमहरू देख्न सकिन्छ ।
मानव संसार अहिलेको स्वार्थले लटपटिएको मानव सभ्यतालाई एक झापट पनि हो । यहाँ युटोपियाली यायावर र परिवर्तना जस्ता पात्रहरूलाई अति आदर्शवादी व्यक्तित्वको रूपमा जिम्मेवारी निर्वाह गर्ने सक्षम सावित गराइएको छ । सरसर्ती हेर्दा यो उत्तर आधुनिक परिवेशमा अति आदर्श, अति सालिन पात्रहरु श्रृजना गर्नु नै लेखकले वर्तमान समयमा प्राचीन व्यक्तिहरुको कर्म, सोंच र संस्कारको आवश्यकता बोध गरेको महसुस हुन्छ ।
पुस्तक पढ्दै जाँदा लेखक प्राध्यापक भन्दा बढी पर्यटक र पर्वतारोही भएको अनुभुति हुन्छ नै । लेखकसँग प्राविधिक शब्दावली निकै छन् र तिनीहरुको प्रयोग पनि ठीक ठाउँमा भएको आभास हुन्छ । क्याम्प नम्बर, हिम पहिरोजस्ता शब्दावलीले पाठकहरुलाई अभिप्रेरित गर्न खोजेको देखिन्छ ।
लेखकको बहुव्यक्तित्व यस पुस्तकले प्रष्ट पार्दछ । उनी समाजसेवी, कुशल विचारक र उच्च कल्पनाशील व्यक्ति हुन् भन्नुमा अतिशयोक्ति भने पटक्कै हुने छैन । उनको मानव संसाररूपी वृद्धाश्रममा पहिलेका युवाहरु वृद्ध भएर आएका छन् र पवित्र वृक्ष रुद्राक्षको कल्पना गरिएको छ । परिवर्तना र डा= सौन्दर्या यो मानव संसार नामक वृद्धाश्रमका अविस्मरणीय पात्रहरु हुन् । आखिर आत्मवृतान्त परिवर्तनाले लेखिछन् र यसको नाम पाठकहरुले औधी रुचाएका अर्कीपात्र सौन्दर्याले ब्रश र रंगले पुस्तकको नामकरण गर्छिन् – मानव संसार (पृष्ठ १९२)।
लेखक देशभक्तिले ओतप्रोत छन् । दुइटा देश बीच हुने सन्धिमा बलियो राष्ट्रले निर्धालाई दवाउने कुरामा सधँैभरि दम्भ राख्दछ । देशभक्त नेतालाई मराउन चाहान्छ तर त्यस देशका मानवले बचाउने काम गर्दछ । देशै भित्र राष्ट्रघातीहरु हुनेछन् । जनताको जिम्मेवारी राष्ट्रिय स्वाधीनता तथा राष्ट्रिय अस्मिताको रक्षा गर्नुपर्ने भन्ने जस्ता भावनाहरु मुखरित भएका छन् (पृष्ठ १४५) ।
यो उपन्यासभित्र कविता पनि समाहित छ । मानिस कस्तो हुनुपर्ने भन्नेवारेमा दस हरफको कविता राखिएको छ । शायद, लेखकले खोजेको मानव संसार भित्रको मानवताका विशेषताहरु लेखिएका होलान् । मुक्तिका लागि अग्रगामी व्यक्ति नै आदर्श मानवको रूपमा व्यवस्था भएको अनुभूति गर्न सकिन्छ (पृष्ठ १४५) ।
स्थायी आर्थिक स्रोत संस्थाको जीवन हो । त्यसैले वृद्धाश्रमको लागि आर्थिक स्रोतको खोजी गरिएको छ (पृष्ठ १४५) । यो वास्तविक समाजमा पनि नियमित आय श्रोतको अभावमा कैयौँ संस्थाहरु बन्द भएका घटनाहरुलाई समेत लक्षित गरिएको हुन सक्दछ भन्ने लाग्दछ ।
तसर्थ विचारको पाटोमा सरण राई आफ्नो समृद्धिलाई जनसमक्ष प्रस्तुत गर्न सफल भएका छन् । उनको विषयवस्तुका उठानले समाजको आँखा खोल्न प्रयत्न गर्छ र गलत बाटोमा समाजलाई निर्देशित गर्नेहरुलाई नराम्ररी झपट हान्छ ।
२. मलिन पक्ष
माथि उल्लेखित सबल पक्षलाई हेर्दा स्तुति गान जस्तो देखिएता पनि यो सानो चर्चा लेखकको स्तुति गान पटक्कै होइन । जे हो, जो बुझियो, त्यहि प्रस्तुत गर्न खोजिएको छ । लेखकमा कमजोरी छैन भन्ने आशय पटक्कै होइन । त्यसैले केही कमजोरी पक्षलाई समेत केलाउने प्रयत्न गरिएको छ ।
कहिं कतै शब्द चयनमा त्रुटि भएको हो जस्तो छ किन कि ‘‘जीवन बुझिसकेपछि ओठमा देखापर्ने अवोध मुस्कान” (पृष्ठ ५), ‘‘मौरी झै मानिसहरु हिडिरहेका छन्”(पृष्ठ ) जस्ता अभिव्यक्तिले दिने विम्ब सरल र स्पष्ट छैन । बुझे पछिको मुस्कान ‘अबोध’ नहुनु पर्ने हो । त्यसरी नै मौरी झै मानिसहरु गाँड लागेका या भेला भएका भनेको भए सरल हुन्थ्यो या कमिलाझँै हिँडेका भनेको भए बिम्ब सरल हुन्थ्या ।
यसरी नै शब्द चयन गर्दा ‘स्नोफल’ भनिनु पर्नेमा ‘आइसफल’ (पृष्ठ ५५) भनिएको छ । ‘आइसफल’ ले त्यो बिम्ब दिँदैन किनभने आकासबाट खस्ने सेतो रंगको सिमलको भुवा जस्तो हल्का झरिरहनुलाई हिमपात अर्थात स्नोफल भनिनु पथ्र्यो । यदि हिमपहिरोलाई संङ्केत नगरिएको हुनपर्छ । यदि गरिएको भए एभलान्च भनिनु पथ्र्यो भन्ने लाग्दछ ।
कहिकतै नेपालको भौगोलिक स्थितिको प्रस्तुति नमिलेको जस्तो देखिन्छ । चोमोलेङमाको आधार शिविरबाट ‘‘नाम्चे र तेङ्बोचे झर्छौ” लेखिएको छ । यथार्थमा, आधार शिविरबाट झर्दा पहिला तेङ्बोचे आउँछ र मात्रै नाम्चे आउँछ । तेङ्बोचे बाट सिधै ओरालो झरेर दूधकोशी किनारमा रहेको सानो ठाउँ फुङिठाङ्गाबाट नदी तरेर करिमकरिम उकालो हिंडी खुम्जुङ उपत्यका पुगी स्याङबोचे हुँदै नाम्चे झरिन्छ ।
लेखक कतैकतै कसैसँग नराम्ररी खनिन्छन् । उनी लेख्छन् ‘ राजनीतिज्ञ, नेताहरु त गुहुका किराहरुसरि हुन” (पृष्ठ १०९) यही कुरालाई सालिन तबरबाट असहमति जनाउँदा वा विरोध गर्दा राम्रो हुन्थ्यो ।
बोली चालीको भाषा वढी प्रयोग भएको देखिन्छ । त्यसैले होला नेपाली वाक्य संरचनाभित्र प्रशस्त अंग्रेजी शब्दहरु देखिन्छन् । "‘‘'मेसेज दिएको छु । . फोन गर्नु .बाइ बाइ मम्मी” (पृष्ठ १४१) । त्यही अर्थमा त्यही पृष्ठमै ‘‘ मेसेज पठाएको” भन्ने प्रयोग छ । साँच्चै, नेपालीमा प्रयोग गर्नुपर्दा कुन प्रयोग ठीक हो त भन्ने कौतुहल जाग्दछ । एकरूपताका लागि एउटै रोजेको भए बेस हुन्थ्यो जस्तो लाग्छ ।
३. निष्कर्ष
मानव संसार समाजमा भएका विसङ्गगतिप्रति ठाडै खनिएको छ । यसले वर्तमानमा रहेका राजनीतिकर्मीहरुलाई कठोर शब्दावली प्रयोग गरी तिनीहरुप्रति नकरात्मक सोंच जगाउन प्रयत्न गरेको छ । यसले समस्या मात्रै थोपरेको छैन; समाधानको उपाय समेत व्याख्या गरेको छ । भाषा प्रयोगमा कठोरता र तिक्तताको परिमाण घटाउनु उपयुक्त हुन्छ ।
अन्त्यमा, सरण राईबाट अझ राम्रा सिर्जनाहरु नेपाली समाजले पाइरहोस भन्ने कामना व्यक्त गरिन्छ ।
सन्दर्भ सूची
राई, सरण २०६५ । मानव संसार । धरान उपयोगी प्रकाशन ।
साभार :ITREC (Journal of Itaahri Reasearch Centre) Vol.1
* * *
मानव संसारभित्र केहीबेर चियाउँदा
मानव संसारभित्र केहीबेर चियाउँदा
अनुपमा रेग्मी
उपप्राध्यापक,पद्मकन्या क्याम्पस, बागबजार, काठमाडौं
नेपाली साहित्यमा उपन्यास लेखनमा नवीन प्रयोग र आयामहरू थपिई रहेका छन् । अहिलेको साहित्यिक समय आख्यानमय भई रहेको छ । नयाँ नयाँ वाद, प्रयोग र मान्यता अँगालेर उपन्यास प्रकाशन भई रहेका छन् । यस क्रममा लामो समय साहित्येतर विषयको प्राध्यापन गरेर बिताएका शरण राईले जीवनको उत्तराद्र्ध समयमा आफ्नो यात्रा साहित्यतिर मोडेका छन् । कथा सङ्ग्रह, निबन्ध सङ्ग्रह र कविता लेखनबाट उपन्यासमा लागेका उनको मानव संसार नामक प्रथम उपन्यास प्रकाशित छ । साहित्य लेखन कस्तो हुनुपर्छ ? केका लागि साहित्य लेखिनु पर्छ ? भन्ने सन्दर्भमा पाश्चात्य साहित्यमा विभिन्न सैद्धान्तिक बहस र अभियान चलेका भए पनि नेपाली साहित्यमा भने यसको त्यति चर्चा पाईंदैन । लामो समय कम्युनिस्ट पार्टीको प्रत्यक्ष अप्रत्यक्ष राजनीतिमा समेत बिताएका शरण राईले साहित्यको उपादेयता सम्बन्धी आप्mनै खाले सोच उपन्यास मार्पmत् नै प्रकट गरेका छन् ।
मानव संसार सोद्देश्य लेखिएको उपन्यास हो । यसमा लेखकले समसामयिकता र देशप्रेमको विषयलाई उठान गरेका छन् । नेपालको वर्तमान राजनीतिक माहौल अन्यौलग्रस्त बनेको अवस्थामा उपन्यासमा राष्ट्रिय राजनीतिका नकारात्मक पाटाहरूको निक्र्यौल गरेका छन् साथै राष्ट्रिय राजनीतिमा हुनु पर्ने आदर्श पाटाको पनि अङ्कन पनि गरेका छन् । राजनीतिक दलका कर्तव्य, पारदर्शिताको मात्र नभई दलीय स्वार्थ, गुट र उपगुटका षड्यन्त्रलाई समेत राईले औपन्यासिक विषयको रूपमा उठान गरेका छन् ।
प्रस्तुत उपन्यासमा लेखकले उठाउन खोजेको मुख्य विषय हो — वृद्धावस्थाको व्यवस्थापन । आजको वैश्विक परिवेशमा धेरैजसो युवा विविध कारणले विदेशिएका अवस्थामा वृद्ध वृद्धाको जीवन कष्टकर बन्दै गएको सामाजिक यथार्थ हाम्रा सामु छ । त्यति मात्र नभई बढ्दो स्वार्थका कारण वृद्ध बाबुआमालाई घरबाट निकाली दिने छोरा छोरीको सङ्ख्या समेत बढी रहेका बेला प्रस्तुत उपन्यास मार्पmत् लेखकले वृद्धावस्थालाई पनि जीवनको खास समयको रूपमा स्वीकार गर्दै वृद्धहरूको उमेर र सृजनशीलतालाई सदुपयोग गर्ने र उनीहरूको मनोविज्ञान बमोजिम काम गर्ने संघ संस्था वा वृद्धाश्रमको खाँचो भएकोतर्पm औंल्याएका छन् । उनको मानव संसार त्यस्तै वृद्धाश्रमको परिकल्पना हो । उपन्यासकार ध्रुवचन्द्र गौतमले भने झैं मानव संसार जीवन, मृत्यु, राष्ट्रियता, आदर्श, आकाङ्क्षा आदि विभिन्न अवस्था मिलेर बनेको छ ।
राजनीति यस उपन्यासको मूल विषय होइन । सुन्दर र आदर्शपूर्ण मानव संसारको परिकल्पनामा पात्रलाई दलीय स्वार्थभन्दा माथि उठाउने सन्दर्भमा मात्र राजनीति आएको भए तापनि राजनीतिक विकृतिले गर्दा नेपालमा बढ्दै गएको भ्रष्ट्राचार, गुण्डागर्दी, विधिको शासनको उपहास, तस्करी, विदेशी चलखेल जस्ता विकृतिलाई उपन्यासकारले विस्तारपूर्वक व्याख्या गरेका छन्, यद्यपि मानव संसार एक आदर्शमय, योग्य र आवश्यक परिकल्पना हो ।
प्रस्तुत उपन्यासमा राजनीतिलाई जस्तै गभ्भीरताका साथ उठाइएको अर्को विषय हो प्रेम । एउटा पात्र, परिवर्तनाको डायरीका माध्यमबाट लेखिएको यस उपन्यासमा आदर्श प्रेमको विषयलाई प्रमुख स्थान दिइएको छ । परिवर्तनाको गोकुल मानवसितको निस्वार्थ दाम्पत्य प्रेमलाई उच्च उदात्त रूपमा प्रस्तुत गरिएको यसमा प्रेमलाई आध्यात्मिक अनुभूतिको तहमा र जीवनको प्रेरणाको ऊर्जाको रूपमा प्रस्तुत गरिएको छ ।
प्रस्तुत उपन्यासमा नेपाली समाज र राजनीतिक परिदृश्यका समसामयिक समस्याको उठान गरिएको छ तर लेखकले केबल समस्याको उठान मात्र गरेका छैनन्, सम्भाव्य र उपयुक्त समाधानको मार्गनिर्देश पनि गरेका छन् । प्रमुख पात्रलाई राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण पदमा आसिन गराएका कारण राजनीतिक उज्याला र अँध्यारा, समस्या र समाधान, एउटै पार्टीभित्र हुने गुटको षडयन्त्र र नेपाली अर्थव्यवस्थाको जर्जर अवस्था आदि सप्रसङ्ग आएका हुन् । देशमा केबल राजनीतिक अस्थिरतालाई मात्र होइन, नागरिक स्वयंले पनि देशका लागि आपूmले गर्नु पर्ने कर्तव्यबोध बिर्सेको कुरालाई उजागर गर्न समेत लेखकले छुटाएका छैनन् ।
उपन्यासको प्रारम्भ नै जीवन दर्शनबाट गरिएको यस उपन्यासमा शून्यवादी विचार ठाउँ ठाउँमा प्रस्तुत भएको छ । जीवनको क्षणभङ्गुरता देखाई सत्कर्म गरेर आप्mनो अस्तित्व राख्न सक्नु पर्छ भन्ने सन्देश दिनका लागि यसमा मृत्युका घटनालाई पनि जीवन जत्तिकै महत्त्वका साथ प्रस्तुत गरिएको छ । मृत्युको अवश्यम्भाविताको उल्लेख गर्दै लेखकले मृत्युबोधले मानवमा त्यागी भाव जगाउन सक्छ भन्ने उद्देश्यलाई प्रस्तुत गर्न खोजेका छन् ।
सोद्देश्य उपन्यास भएका कारण हरेक समस्याको आदर्श समाधान दिने क्रममा उपन्यासमा आदर्शका पाटा अलिक धेरै नै आएको अनुभूति हुन्छ । नागरिकका कर्तव्यका विविध मार्ग निर्देश गरे पनि देशमा राजनीतिक व्यवस्था सुदृढ नभएसम्म देशमा काम गर्न सहज वातावरण प्राप्त हुन नसक्ने कुरामा लेखकले जोड दिएका छन् ।
यस उपन्यासमा भौतिकवादी दर्शनलाई पनि विषयवस्तुको एउटा पक्ष बनाइएको छ । लेखकले कतै कतै माक्र्सवादी दर्शनमा आधारित वर्गीय असमानताको कुरालाई पनि उठाएका छन् । रैखिक ढाँचामा लेखिएको प्रस्तुत उपन्यास बौद्धिक खालको छ । यसका हरेक पात्रहरू लेखकले प्रस्तुत गरेको उद्देश्य बहन गर्न सक्षम र सबल देखिएका छन् । यसका साथै उपन्यासमा कतै कतै उच्च सौन्दर्यबोधको कलात्मक प्रस्तुति पनि भएको छ । उपन्यासमा उमेर अनुसारको र व्यक्ति अनुसारको सौन्दर्य सबैमा बेग्लाबेग्लै पाराको हुने भएकाले त्यसलाई अनुभूत गर्न पाठकलाई अप्रत्यक्ष अनुरोध पनि गरिएको छ ।
प्रस्तुत उपन्यासमा पुस्तान्तरले ल्याएको समस्या, आजको समाजमा छोराछोरीको वृद्ध माता पिताप्रतिको दायित्व, युवाहरूको बढ्दो विदेशिने प्रवृत्ति, विश्वव्यापीकृत आजको युगलाई सकारात्मक ढङ्गले हेर्नु पर्ने आग्रहका साथै परिवर्तित हुँदै गएको नेपाली समाज र यसका मान्यतालाई पनि विषयका रूपमा ल्याइएको छ । धेरै विषयलाई प्रस्तुत गर्न खोजिएको भए पनि घटनाको सिलसिलेबार प्रस्तुति र भाषिक प्रवाहसँगै घटनाक्रम बग्दै गएका कारण उपन्यास रोचक बन्न पुगेको छ ।
उपन्यास लेखनका क्रममा लेखक प्रशस्त भावुक बनेर प्रस्तुत भएको अनुभूति हुन्छ । लेखकको औपन्यासिक यात्राको प्रथम पाइलो भएकाले यसमा केही कमजोरी पनि मिसिएको आाभास पाठकलाई मिल्छ । लेखनलाई स्तरीय बनाउने सक्दो प्रयास हुँदाहुँदै पनि लेखक कतै कतै बहकिएकाले लेखनमा अलि बढी वर्णनात्मकता भएको अनुभव हुन्छ । त्यस्तै गरी देशको राजनीतिक स्थितिको चित्रणका सन्दर्भमा पनि लेखकले पात्रका विचारलाई स्वतःस्फूर्त प्रकट गर्न दिनु भन्दा आफ्ना विचारले थिचेको अनुभूति पाठकलाई हुन सक्छ । लेखकले पात्रलाई बोल्न लगाएर आपूm तटस्थ रहन सक्नुमा पनि लेखन कलाको सबलता रहने हुनाले लेखक राईले आगामी लेखनमा यस कुरामा ध्यान दिनु आवश्यक देखा पर्छ । अर्को कुरा लेखनका क्रममा आयामको विस्तृतताको ख्याल राख्नु राम्रो हो तर लामा उपदेशात्मक गन्थन, लामा भाषणजस्ता लाग्ने सम्वाद वा निबन्धात्मक टिप्पणी लेख्दा पाठकले पट्यार महसुस गर्न सक्ने हुनाले त्यसतर्पm पनि सचेत रहनु आवश्यक देखिन्छ, यद्यपि समसामयिक समाज र राजनीतिका सम्बन्धमा लेखकलाई उपन्यास मार्पmत् भन्न मन लागेका थुपै्र कुरा होलान् । उद्देश्य केन्द्रित लेखन भएका कारण लेखनमा अलि बढी उपदेशात्मकता, आदर्श र वर्णन हुनु अस्वभाविक होइन ।
उपन्यासमा प्रशस्त नवीनतम शैलीगत प्रयोग गरिएको छ । मानव संसारभित्र पात्रहरू अवलोकनार्थ पसे पछि तिनै पात्रले कथानकसँगै मानव संसारको निर्माण र विकास गर्दै गएका छन् । उपन्यासभित्र मानव संसार हेर्नेहरूको समूह त्यसतर्पm गएको स्वैरकल्पनालाई प्रस्तुत गरिएको छ । प्रस्तुत उपन्यासका सबल पक्षहरू थुप्रै छन् । यसमा प्रस्तुत सूक्तिमय अभिव्यक्तिले यसको उचाइलाई देखाउँछ । भाषिक सरलतासँगै सूक्तिको प्रयोगले भाषा उच्च कोटिको र ओजस्वी बनेको छ । कथानकको बिचमा आउने कविताका टुक्रा र चिठीका अंशहरूले उपन्यासमा चटनीको काम गरेका छन् ।
भाषाका पक्षबाट हेर्दा प्रस्तुत उपन्यासमा आवश्यक विदेशज आगन्तुक शब्दको प्रयोग बाहेक केही लेखकको मातृभाषा बान्तवा राई भाषाका शब्दलाई जस्ताको तस्तै प्रयोग गरेर उपन्यासमा फरकपन ल्याउन खोजिएको छ । सूक्ति र उखानको प्रयोगलाई पनि आवश्यक मात्रामा प्रयोग गरिएका कारण भाषा कलात्मक बनेको छ । अत्यन्तै सरल प्रवाहमय भाषा भएका कारण पाठकलाई वर्णनात्मकता पनि पट्यार लाग्दो गन्थन जस्तो नलाग्ला ।
नेपाली उपन्यासमा प्रयोगात्मकता, शैलीगत नवीनता र नयाँ विषयको खोज एवं प्रस्तुति बढी रहेको भए पनि उद्देश्यपूर्ण लेखनको बेग्लै खाले धारमा उभिएको यस उपन्यासको आप्mनै विशिष्ट व्यक्तित्व बनेको छ । लेखन उद्देश्यपूर्ण पनि हुनु पर्छ । लेखनले समाजलाई मार्ग दर्शन गर्नु पर्छ भन्ने लेखकीय मान्यता र सोचलाई स्पष्ट प्रस्तुत गर्न मानव संसार सक्षम भएको छ ।
इति
* * *
मानव संसार उपन्यासको विविध कोणबाट विवेचना
मानव संसार उपन्यासको विविध कोणबाट विवेचना
डा. भोलानाथ पोखरेल , धरान
१. विषय प्रवेश
साहित्यका विभिन्न विधामा कलम चलाउने शरणकुमार राईको मानव संसार (२०६५) आलोचनात्मक यथार्थतामा आधारित उपन्यास हो । आत्मवृतान्त शैलीमा लेखिएको यस उपन्यासमा २०६२÷०६३ सालमा भएको नेपालको जनआन्दोलनलाई पृष्ठभूमिका रूपमा लिएको छ र त्यसभन्दा अगाडि एवम् पछाडिको परिवेशमा यो उपन्यास सिर्जना भएको छ । विवेच्य उपन्यासमा नेपाल सरकार र नेपाली भूमिमा अवस्थित विभिन्न दलहरूबीचको द्वन्द्व, शान्ति सम्झौता, संविधानसभाको निर्वाचन आदि महŒवपूर्ण घटनाहरूलाई लिएर प्रस्तुत उपन्यास सिर्जना भएको छ । मुख्यतः राजनैतिक विषयवस्तुमा लेखिएको यस उपन्यासमा आवश्यकताअनुसार अन्य प्रसङ्गहरू पनि आएका छन् । आजको युग आधुनिकीकरणको युग हो जसको प्रभावमा परेर छोराछोरीहरू आफ्ना आमाबाबुबाट टाढिंदै गएका देखिन्छन् । यसैले बृद्घाश्रमको अनिवार्य आवश्यकता छ भन्ने विषयवस्तुमा उपन्यास केन्द्रित छ । यो लेखको उद्देश्य उपन्यासकार शरणकुमार राईको परिचय दिंदै उनको मानव संसार आलोचनात्मक यथार्थमा आधारित उपन्यास हो भन्ने विषयलाई पुष्टि गर्नु रहेको छ ।
२. उपन्यासकारको परिचय
बहुआयामिक व्यक्तिŒवका धनी शरणकुमार राईको साहित्यिक नाम सरण राई हो । यस लेखमा अब उनलाई सरण राईकै नामबाट सम्बोधन गरिने छ । यिनी आमा शिवमाया र बाबु मछिन्द्रबहादुर राईका जेठो छोराको रूपमा २००४ साल चैत्र २४ गते भोजपुर जिल्लाको छिनामखु गाउँमा जन्मिएका हुन् । अनेरास्ववियुका केन्द्रिय सदस्य (२०२६–२०२८) राई विद्यार्थी अवस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय रहेका देखिन्छन् । ३५ वर्षसम्म अर्थशास्त्रको प्राध्यापन पेशामा संलग्न राई ने. प्रा. सं. को केन्द्रीय सदस्यसम्मको पदीय जिम्मेवारी पनि उनले निर्वाह गरेको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, एमाले, माले पार्टीका विभिन्न समितिमा रहेर काम गर्ने उनी हाल आएर नेकपा एमाले अञ्चल सल्लाहकार सदस्यमा रहेर सक्रिय जीवन विताइ रहेका छन् (बराल, २०६८ ः ३ परिशिष्ट खण्ड) । उनको व्यक्तिŒवको अर्को पाटो साहित्यिक यात्रा लगभग चार दशक भन्दा लामो छ । उनका केही कथा केही कविता (सहलेखन ः २०३८), साथी (निबन्ध सङ्ग्रह ः २०६४), मानव संसार (उपन्यास ः २०६५) र अन्तिम स्वकारोक्ति (कथासङ्ग्रह ः २०६६) प्रकाशित पुस्तकाकार कृतिहुन् । उनका प्रकाशोन्मुख कृतिहरू उडान मनको (उपन्यास), मृत्यु बाटाभरि फुलिरहने हुन्छ (कविता सङ्ग्रह) र गाढा प्रेम (कथासङ्ग्रह) रहेको विषय जानकारीमा आएको छ ।
३. आलोचनात्मक यथार्थवादी नेपाली उपन्यासहरू
यथार्थवादका विभिन्न धारामध्ये आलोचनात्मक यथार्थवाद पनि एक हो । आलोचनात्मक यथार्थवाद र प्रगतिवादका बीचमा पृथकता हुँदाहुँदै पनि कतिपय प्रवृत्तिहरूमा समानता पनि पाइन्छन् । समाजमा भएका शोषण, दमन, असमानता, अन्याय, अत्याचार, भ्रष्टाचार आदि प्रवृत्तिहरूको विरोध गर्नु आलोचनात्मक यथार्थवाद र प्रगतिवादका साझा विशेषता हुन् । प्रगतिवाद र आलोचनात्मक यथार्थवादले समाजका सकारात्मक पक्षको समर्थन र नकारात्मक पक्षको विरोध गरेका हुन्छन् (सुवेदी, २०५३ ः १३४) । समाजको बाह्य वर्णनमा आलोचनात्मक यथार्थवादसीमित रहन्छ भने प्रगतिवाद द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादमा आधारित हुनाले यसले सामाजिक समस्याका आन्तरिक कारणहरू पनि पत्ता लगाउँदै समाधानका बाटातर्पm लक्षित हुन्छ । जबसम्म कुनै पनि वस्तुको सामान्य परिवर्तन मात्रै हुन्छ र साररूपमा परिवर्तन हुँदैन तबसम्म त्यस वस्तुको आधारभूत प्रवृत्तिमा फेरबदल हुँदैन भन्ने विचारमा प्रगतिवाद स्पष्ट हुनु र आलोचनात्मक यथार्थवाद स्पष्ट नहुनु यी दुईमा पाइने भिन्नता हुन् (गौतम, २०४९ ः १५७) । यसरी भिन्नता हुँदाहुँदै पनि यी दुई सहयोध्दाजस्ता भएर सँगसँगै पनि हिडेका देखिन्छन् । जर्ज लुकासले यी दुवै विचारधारा छुट्याउन पनि गाह्रो हुन्छ र एउटै कृतिमा पनि यी दुवै शैली पाउन सकिन्छ भनेका छन् (लुकाश, २०३१ ः २८५) । विवेच्य कृति मानव संसार उपन्यास मूल रूपमा आलोचनात्मक यथार्थवादी भएर पनि गौण रूपमा प्रगतिवादी प्रवृत्तिहरू पनि आएका छन् ।
आधुनिक नेपाली उपन्यासको विकासक्रममा आलोचनात्मक यथार्थवादको सुरूवात लैनसिंक बाङ्गदेलको लङ्डाको साथी (२००८) उपन्यासबाट भएको भन्ने पाइए तापनि वास्तवमा यस उपन्यासको मूल प्रवृत्ति आलोचनात्मक यथार्थवाद होइन । आलोचनात्मक यथार्थवादको मूल प्रवृत्तिलाई नै अँगालेर लेखिएका हृदयचन्द्रसिंह प्रधानका स्वास्नीमान्छे (२०११) र एक चिहान (२०१७) उपन्यासहरू प्रकाशित भएका छन् । उनको स्वास्नीमान्छे उपन्यासका नारीहरूका समस्याको विश्लेषण गरिएको छ र उनीहरूका मुक्तिका निमित्त विद्रोह गर्न पनि सिकाइएको छ (पोखरेल, २०६४ ः १४९) । यस्तै उनको दोस्रो एक चिहान उपन्यासले अन्तर्जातीय विवाहलाई स्वागत गरेको छ र श्रम शोषणको विरोध गरिएको छ । यसै क्रममा खड्गबहादुर सिंहका विद्रोह भाग – १ (२०११) र भाग – २ (२०१३), मञ्जुलको छेकुडोल्मा
(२०२६), केशवराज पिडालीको एकादेशकी महारानी (२०२६), जगदीश घिमिरेको लिलाम
(२०२७),र साबिती (२०३२), तारानाथ शर्माको सुली (२०३०),मोदनाथ प्रश्रितको देशभक्त लक्ष्मीबाई (२०३२), पिटर जे कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छे (२०३४),कविताराम श्रेष्ठका वनदेवी (२०२६), पानीको थोपा (२०३८) आदि उपन्यासहरू आलोचनात्मक यथार्थवादमा आधारित छन् । यस्तै मदनमणि दीक्षितको माधवी (२०३९), रमेश विकलको अविरल बग्छ इन्द्रावती (२०४०) र सागर उर्लन्छ सगरमाथा छुन (२०५२), पारिजातका परिभाषित आँखाहरू (२०४६), बोनी (२०४८), गोविन्द गिरी प्रेरणको उत्खनन् (२०४५), पाखण्ड पर्व (२०५०), भवानी पाण्डेको अमर वस्ती (२०५३), आदि उपन्यासहरू पनि आलोचनात्मक यथार्थवादी धाराका सवल उपन्यासहरू हुन् (सुवेदी, २०५३ ः १३८–१७०) । यस्तै धाराका अन्य उपन्यासहरूमा कृष्ण धारावासीका शरणर्थी (२०५४), राधा (२०६१), तपाइँ (२०६३), खगेन्द्र सङ्ग्रौलाको जूनकीरीको सङगीत (२०५६), नारायण तिवारीको पिताम (२०५७) आदि उपन्यासहरू पनि आलोचनात्मक यथार्थवादी धाराकै विकासक्रममा आएका छन् । यसै क्रममा सरण राईको मानव संसार (२०६५) उपन्यास देखा परेको छ । यस उपन्यासका पात्रहरूका माध्यमबाट सामाजिक विकृति, शोषण, दमन, अन्याय, अत्याचार एवम् जनविरोधी उच्छृङ्खल क्रियाकलापको विरोध गरिएको छ ।
४. कथानक
मानव संसार उपन्यासको कथानक पूर्वदीप्ति शैलीबाट अगाडि बढेको छ । जागिरे जीवनबाट अवकास प्राप्त म पात्र मानव संसार वृध्दाश्रमको अवलोकन गर्न जान्छ र वृध्दाश्रमकी संस्थापक परिवर्तनाद्वारा लिखित आत्मवृतान्त म पात्रले पढेपछि उपन्यासको कथानक आरम्भ हुन्छ । यस उपन्यासकी नायिका परित्याक्ता आमाकी छोरी खिनौरी हो । उसको बाबु तल्लो जातकी भनेर हेयगरिएकी केटीसँग प्रेम गरेकै कारणले घरबाट बहिष्कृत भएर विदेशीएको कयौं वर्ष भइसक्ता पनि उसको कुनै खबर आएको छैन । यसरी परित्याक्ता एक्ली आमाको लालनपालनमा हुर्किएकी खिनौरी काम गर्न सक्ने भएपछि शिक्षक यायावरका घरकोे कामदार बन्न पुग्छे । मानवीय पात्र यायावरले उसलाई काममात्र लगाउँदैन पढ्न सिकाएर साक्षर पनि बनाउँछ । उसले खिनौरीको नाम परिवर्तना राखेको छ र छोटकरीमा परी भनेर बोलाउँछ । अन्त्यमा शिक्षक पेशा छाडेर शहर जाँदा परिवर्तना पनि यायावरसँगै जान्छे र शहरमा गएर उसले उच्च शिक्षा पढ्छे र कम्प्युटरको तालिम पनि लिन्छे र आफ्ना खुट्टामा आफै उभिन सक्ने हुन्छे । परीले राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक आदि विषयहरूको स्वध्ययन पनि गरेकी छ । परी आफ्नै खुट्टामा उभिन सक्ने भएपछि यायावर पनि अन्यत्रै जान्छ । नेपालमा सञ्चालन हुँदै गएको जन आन्दोलनमा धेरै मानिसहरू हताहत भएकामा ऊ चिन्तित हुन्छे । यसै क्रममा परीको अग्रसरतामा नेपालमा भएका अन्याय, आत्याचार, गरिबी, अज्ञानताका विरूद्ध र वातावरणको चेतना जगाउने उद्देश्य राख्तै १७ जना युवाहरूको एउटा समूह गठन हुन्छ । सो समुहका सदस्यहरूलाई बेग्लाबेग्लै क्षेत्रमा कामको जिम्मा दिइन्छ र जसमा परिवर्तना हिमाली क्षेत्रमा पर्दछे । परिवर्तनाको टोली र अन्य टोलीले ७७७ दिनमा आपूmले जिम्मा लिएको काम पूरा गरी सहर फर्कन्छन् । परीले पश्चिमी जिल्लाहरूको भ्रमण गरेर त्यहाँ भएका समस्याहरूको सङ्कलन गर्दै समाधानका उपायहरूसमेत भएको प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउँछे तर सरकारबाट त्यो प्रतिवेदनको कुनै सुनुवाई हुँदैन । गठन भएको १७ जनाको टोलीमा लक्ष्मणिया र स्वजना सहिद भइसकेका हुन्छन् । परिवर्तनाले हिमाल चढ्ने तालिम लिएर सहिद लक्ष्मणिया र स्वजनाको ढलोट चोमोलोङ (सगरमाथामा) राखेर कृतज्ञता ज्ञापन गर्दछे । यसरी परिवर्तनाले सफल हिमाल आरोहण गरी सहिदको सम्मान गरिएकोमा सर्वत्र प्रशंसा हुन्छ ।
साइवर क्याफे खोलेकी परी विदेश भ्रमणमा जाने अवसर पाउँछे । विदेश भमणबाट फर्किए पछि उसकै साइवरमा आइरहने साहित्यकार गोकुल मानवसँग प्रेम हुन्छ र उनीहरूका बीचमा विवाह पनि हुन्छ । नेपालमा संविधान बनेर पनि देशका मुलभूत समस्याहरू समाधान हुन नसकेकाले अर्को एउटा नयाँ दल सर्व विकास निर्माण पार्टी गठन हुन्छ । निर्वाचनमा कसैको पनि बहुमत नआएका हुनाले सर्वसम्मति सरकारमा परिवर्तना उपप्रधानमन्त्री हुन्छे । गठबन्धन सरकार राम्रोसँग चल्दैन र परिवर्तनाकी आमाको पनि देहबसान हुन्छ । चारवर्ष पछि भएको अर्को चुनावमा परिवर्तनाको सर्व विकास निर्माण पार्टी सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुन्छ र तस्रो ठूलो दलसँग मिलेर बनेको संयुक्त सरकारको प्रधानमन्त्री परिवर्तना हुन्छे ती पार्टीहरू बीचमा भएको आरोप प्रत्यारोपका कारणले सरकारले लोकप्रिय काम गर्न सक्तैन ।
परीका छोराछोरी विदेशमा हुन्छन् । उसकी छोरी नायुमाले विदेशी डा. जोन्सनसँग विवाह गर्दछे । छोरो पारुहाङले स्वदेशी केटीसँग विवाह गरे पनि विदेशमै बस्तछ । यसरी छोराछोरी दुवै विदेशमै बस्ने भएकाले परी चिन्तित हुन्छे । गठबन्दन सरकारका बीचमा मनमुटाव हुन्छ र एक दिन भव्य समारोहमा परिवर्तनालाई ताकेर हानेको गोली छेक्ता गोकुल मानवको मृत्यु हुन्छ । परिवर्तनालाई नजरबन्दमा राखिन्छ । गठबन्दन सरकारले राजिनामा दिएपछि मध्यावधी निर्वाचन हुन्छ । निर्वाचनमा सर्व विकास निर्माण पार्टी बहुमतले विजय हुन्छ । परिवर्तना प्रधानमन्त्री नबन्ने भएपछि अर्थशास्त्रको विद्यावारिधि डा. सौन्दर्यालाई उसले सिफारिस गर्दछे ।
परिवर्तना डा. गोकुल मानव आश्रम नामको वृद्धाश्रम निर्माणमा तल्लीन हुन्छे पचास शैयाको अस्पताल बन्छ । त्यस अस्पताललाई डा. सौन्दर्या र परीले शरीर दान गर्दछन् । डा. गोकुल मानव आश्रम, मानव आश्रम हुँदै मानव संसार आश्रममा परिणत हुन्छ । यस आश्रमका अन्य शाखाहरू पनि खोलिन्छन् । वृद्धाहरूलाई अनेकौं प्रतिस्पर्धात्मक कार्यक्रमहरू गराएर खुसी तुल्याइन्छ । बुढ्यौलीले छोएकी परिवर्तना पनि वृद्धाश्रममै बस्न थाल्छे । परिवर्तनाले आपूmद्वारा लिखित आफ्नो आत्मवृतान्त डा. सौन्दर्यलाई दिएकी हुन्छे । एक दिन वृद्धाश्रममै परिवर्तनाको मृत्यु हुन्छ । नायुमा, पारुहाङ सौन्दर्या र अन्य सबै वृद्धहरू शोकाकूल हुन्छन् । परिवर्तनाको आत्मवृतान्त पीताम्बरले लपेटेर उच्च सम्मानका साथ वृद्धाश्रमको प्रदर्शनी कक्षमा राखिन्छ र मानव संसार उपन्यासको कथानकको अन्त्य हुन्छ ।
मानव संसार उपन्यासको कथानक आदि, मध्य र अन्त्यका क्रममा अगाडि बढेको छ । परिवर्तनाद्वारा लिखित आत्मवृतान्त पढ्न थालेपछि कथानक आरम्भ हुनछ । भव्य समारोहका बीच परिवर्तनालाई हानेको गोली लागेर गोकुल मानवको मृत्यु हुनु यस उपन्यासको चरमोत्कर्षको अवस्था हो । यसपछि उपन्यासको कथानक ओरालो लाग्छ । वृद्ध भएर रोगाएकी परिवर्तनाको मृत्यु हुनु र उसको आत्मवृतान्ता आश्रममा अत्यन्तै सुरक्षित रूपमा सम्मानका साथ राख्नु अन्त्य भाग हो । उपन्यासको अन्त्य भागमा छरिएर रहेका पात्रहरू समेटिने हुन्छन् र यस उपन्यासको अन्त्यमा पनि प्रायः सवै पात्रहरू भेला भएर परिवर्तनाको मृत्युमा शोकाकूल भएका छन् । यसरी रैखिक रूपमा अगाडि बढेको कथानकमा वृत्तकारीय ढाँचाको आभास पनि मिल्छ । खेमनाथ दाहालले मानव संसार उपन्यासको विषय वस्तु संस्मरणत्मक माध्यमबाट वृत्तकारीय शैलीमा प्रस्तुत गर्ने क्रममा शारीरिक श्रमलाई बढीमहŒव दिएको विषयमा चर्चा गरेका छन् (दाहाल, २०६६ ः २) । कथावस्तु अतीतावलोकन ९ँबिकज द्यबअप०का रूपमा प्रकट हुँदा कथानक भूमरी झैं घुमेको अवस्थामा प्रकट हुन्छ । यस्ता किसिमका कथानकमा जुन बिन्दुबाट आरम्भ हुन्छ त्यही बिन्दुमा आएर अन्त्य हुन्छ । मानव संसार उपन्यास पनि म पात्रले परिवर्तनद्वारा लिखित आत्मसंस्मरण पढ्न थालेपछि कथानकको सुरुवात हुन्छ र पढिसकेपछि कथानकको अन्त्य हुन्छ ।
उपन्यासको पूर्वाद्र्धमा अत्यन्तै मानवीय एवम् गरिब, दुःखी, असाहाय एवम् नारी उत्थानमा अगाडि बढेको शिक्षक यायावर उपन्यासको उत्तराद्र्धमा आएर एक्कासी रहस्यात्मक रूपले हराएको छ । उसले नै खिनौरीलाई परिवर्तना बनाएको हो । परिवर्तनाले पनि यायावरलाई सच्चा सहयोगी मानव संझेकी छ । उसले आफ्नो शरीरसमेत यायावरलाई सुम्पिएर प्रणयसम्बन्धमा समेत ऊ बाँधिन पुगेकी छ । यसरी परिवर्तनाको आस्थाको केन्द्रबिन्दु भएको मानवीय पात्र यायावर उपन्यासको कथानकबाट एक्कासी रहस्यात्मकरूपले हराउनु र परिवर्तनाले समेत आफ्नो आत्मवृतान्तमा खासै स्मरण नगर्नाले यायावरमाथि अन्याय भएको पाठकलाई महसुस हुन्छ । उपन्यास पढीसक्ता पनि पाठकहरू यायावरकै जीवनशैलीलाई स्मरण गर्दै उसैलाई खोजी गरि रहेका हुन्छन् । उपन्यासको मानवीय पात्र यायावर बालकृष्ण समको आगो र पानी खण्ढकाव्यको जङ्गली पात्रजस्तै भएर पनि उपन्यासकारले यायावर माथि अन्याय गरेका छन् तर समले आफ्नो जङ्गली पात्रलाई भने न्याय दिएका छन् । यसरी विषयवस्तुलाई नयाँ किसिमले उठान गर्दै लेखिएको मानव संसार उपन्यासको उद्देश्य भविष्यप्रति आशावादी हुनु हो (सुवेदी, २०६६ ः १६) ।
५. चरित्रचित्रण
पात्र वा चरित्र कथानक गतिका संवाहक हुन् । चरित्रको विकास भनेकै कथानकको पनि विकास हो । उपन्यासमा पात्रहरूकै माध्यमबाट सामाजिक जीवनका सम्पूर्ण घटनाहरू अभिव्यक्त हुँदा उपन्यासको उद्देश्य पूरा हुन्छ । सत् वा असत् मानिसहरूबाट मानव समाज निर्माण भएजस्तै औपन्यासिक समाजमा पनि अनुकूल एवम् प्रतिकूल पात्रहरूले त्यहाँको समाजका लागि भूमिका खेलेका हुन्छन् । मनुष्यलाई ग्रन्थिको आवश्यकता पर्ने र पात्रलाई नपर्ने विशेषताले गर्दा मान्छे र पात्रका बीचमा भिन्नता आएको पाइन्छ तर पनि मनुष्य र पात्रका व्यवहार एउटै जस्ता देखिन्छन् (फोस्टर, सन् १९५३ ः ३६) । मानव संसार उपन्यासका मुख्य पात्रहरूको चरित्रचित्रण यस प्रकारले गर्न सकिन्छ ः
क. परिवर्तना
परिवर्तना मानव संसार उपन्यासकी मुख्य नारी पात्र हो । तल्लो जातकी भनेर अपहेलित खिनौरी गतिशील नारीपात्र हो जो यायावरकहाँ नोकर बस्ताबस्तै शिक्षित एवम् सभ्य भएर परिवर्तना भएकी छ । उपन्यासमा परिवर्तनालाई परी भनेर पनि बोलाइन्छ । परी देश र जनताको हितका निमित्त सधैं सक्रिय रहने अनुकूल देशभक्त चरित्र हो । जीवन चेतनाका आधारमा वर्गगत पात्र परिवर्तनाले देशभक्त सक्रिय युवती नारीहरूको प्रतिनिधिŒव गरेकी छ उपन्यासमा प्रत्यक्ष रूपमा देखापर्ने परी मञ्चीय पात्र हो जो मानव सेवा नै धर्म हो भन्ने ठान्दछे । वृद्धाहरूका निमित्त वृद्धाश्रम खोली कुशलतापूर्वक सञ्चालन गर्ने मानवगतावादी पात्र परीले गाउँगाउँमा गएर जनचेतना फैलाउने काम पनि गरेकी छ । उपन्यासको आदिदेखि अन्त्य सम्म महŒवपूर्ण भूमिका खेल्ने बद्धपात्र परीलाई उपन्यासबाट हटाउने हो भने उपन्यासको अस्तिŒवै रहन सक्तैन । ऊ विना मानव संसार उपन्यासको कथानक नै अगाडि बढ्दैन । सफल सगरमाथा आरोहण गरेर सहिदको ढलोट राख्ने परी उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री जस्तो गसिमामय पदमा बसेर पनि देश सेवा गरेकी छ । राजनीति फेहोरी खेल हो भन्ने सामन्ति सोचाईको विरोधी पात्र परीले देश सेवागर्नका निमित्त सर्व विकास निर्माण पार्टी पनि खोल्ने ऊ साहासिक कर्तव्यनिष्ट पात्र हो ।
ख. डा. गोकुल मानव
डा. गोकुल मानव मुख्य पुरुष पात्र हो । ऊ परिवर्तनाको पति र नायुमा एवम् पारूहाङको बुबा हो जो अध्ययनशील साहित्यकारका रूपमा देखा परेको छ । साहित्यप्रेमी गोकुल आफ्ना सन्तान भनेकै कृति हुन् भन्दछन् र नारीहरूलाई हौसला दिएर कार्य गर्न उत्साहित गर्दछ । अनुकूल पात्र गोकुल पत्नीको ज्यान बचाउन छातीमा गोली थापेर जीवन बलिदान गर्न पनि पछि पर्दैन । सहयोगी भावनाको गोकुलले नारीहरूलाई समाजसेवा गर्न उत्साहित गरेको छ । आसन्नताका आधारमा उपन्यासमा प्रत्यक्ष रूपमा देखापर्ने गोकुल मञ्चीय पात्र हो जसलाई उपन्यासबाट हटाउने हो भने उपन्यासको निर्माण हुन नसक्ने हुनाले ऊ बद्ध पात्र पनि हो ।
ग. यायावर
यायावर मानव संसार उपन्यासको सहायक पुरुष पात्र हो । शिक्षक पेशामा संलग्न यायावर सहयोगी अनुकूल पात्र हो जसले खिनौरी (परिवर्तना)लाई घरमा काम गर्नेका रूपमा राखेर पनि शिक्षादीक्षा दिंदै ज्ञानगुनका कुरा सिकाएर व्यावहारिक बनाएको छ । परिवर्तना आफ्नै आर्जनले बाँच्नसक्ने सक्षम, सबल, सचेत एवम् जाग्रत भएपछि मात्र सहयोगी पात्र यायावरले उसलाई छोडेको छ । सधैं एक ठाउँमा बस्न मन नपराउने पात्र यायावर बटुवाजस्तो देखिन्छ । नारीहरूको उन्नति प्रगति भएको देख्न चाहने ऊ पथप्रदर्शक पात्र हो उसकै प्रेरणा पाएर परिवर्तनाले सगरमाथा आरोहण मात्र होइन समाजसेवामा समर्पित हुँदै प्रधानमन्त्री सम्मको ओहोदामा पुगेर देश सेवा गरेकी छ । परिस्थिति अनुसार आपूmलाई परिवर्तन गर्दै लैजाने यायावर अनुकूल पात्र हो । ऊ उपन्यासमा प्रत्यक्ष रूपमा देखापर्ने मञ्चीय पात्र पनि हो ।
घ. डा. सौन्दर्या
परिवर्तनाकी मिल्ने साथी डा. सौन्दर्या मानव संसार उपन्यासकी सहायक स्त्री पात्र हो । गतिशील पात्र सौन्दर्या प्रेममा धोका पाएपछि सम्पूर्ण पुरुषहरूलाई आफ्नै प्रेमीजस्तै धोकेवाज ठान्ने ऊ एक सफल प्रधानमन्त्री हो परोपकारी एवम् गतिशील पात्र सौन्दर्याले आफ्नो सम्पूर्ण सम्पत्ति बालआश्रमलाई दिएकी छ । मृत्युपछि आफ्नो शरीर अस्पताललाई दान दिने सौन्दर्या मानवीय पात्र पनि हो । तर्कशील, कर्तव्यनिष्ठ, कुशल नेत्री, र परोपकारी चरित्र सौन्दर्या आसन्नताका आधारमा मञ्चीय पात्र पनि हो ।
ङ. अन्य पात्र
उपन्यासको कथानकमा झल्याकझुलुक देखापरेर हराउने पात्रहरूलाई गौण पात्र भनिन्छ । यस्ता गौण पात्रहरूमा परिवर्तनाकी आमा पनि एक हो । ऊ आफ्ना श्रीमान्बाट परित्यक्त नारी चरित्र हो जसलाई तल्लो जातकी भनेर आफ्ना पतिले छोडेर जान वाध्य तुल्याइएको छ । तिनै आमाकी छोरी परिवर्तना देशकी प्रधानमन्त्री बनेकी छ । यस्तै अन्य गौण स्त्रीपात्रहरू नायुमा, दीपा, निर्मला, कमलासोरी, सिर्जना, फूलमाया, मुखेनी, बज्यै, माइली आदि उपन्यासको कथानकमा आवश्यकता अनुसार छोटो समयकालागि आएर आफ्नो भूमिका खेलेका छन् । यस उपन्यासमा झल्याकझुलुक देखापर्ने अन्य केही गौण पात्रहरू यी हुन् – पारूहाङ, जमानसिंह, वलवीर, जोन्सन, धनबहादुर, प्रसादमणि, इन्द्रमान, मेघबहादुर, बद्री, खेम, लक्ष्मणिया, आयुश्मा, सौरभ ।
६. दृष्टिबिन्दु
मानव संसार उपन्यासमा आन्तरिक र बाह्य दुवै प्रकारका दृष्टिबिन्दुको प्रयोग भएको पाइन्छ । आन्तरिक केन्द्रीय दृष्टिबिन्दुको एउटा उदाहरण यस्तो छ – “मानिस जबसम्म बूढो हुँदैन तबसम्म ऊ नयाँ कुरा सिक्न चाहन्छ भन्ने भनाइसँग म शतप्रतिशत सहमत छु” (राई, २०६५ ः २) । यस दृष्टिकोणबाट कथित कथामा मुख्य पात्रको आन्तरिक जविनको गहिराई सूक्ष्म ताका साथ प्रस्तुत हुन्छ । (श्रेष्ठ, २०३९ ः ५९) । विवेच्य उपन्यासको एक पेजदेखि आठ पेजसम्म उपन्यासकार स्वयम् म पात्रका रूपमा उभिएर उपन्यास उगाडि बढाएका छन् । प्रस्तुत उपन्यासको नौ पेजदेखि एकसय पचहत्तर पेजसम्म आन्तरिक केन्द्रीय दृष्टिबिन्दुका रूपमा परिवर्तना म पात्रका रूपमा आएकी छ । म पात्र (उपन्यासकार)को मानव संसारको परिकल्पनाकार को हुन् ? भन्ने जिज्ञासाको उत्तर दिने क्रममा विवेच्य उपन्यासकी सञ्चालिका डा. सौन्दर्या मानव संसारका बारेमा परिवर्तनाद्वारा लिखित स्मरण आत्मवृतान्त दिन्छे अनि म (उपन्यासकार) पात्रले पढ्न थालेपछि कथानक सुरु हुन्छ । यस उपन्यासमा १७६ पेजदेखि अन्तिम १९२ पेजसम्मै बाह्य तृतीयपुरूष दृष्टिबिन्दुका माध्यमबाट कथानक अगाडि बढेको छ ।
अतः छोटकरीमा भन्ने हो भने मानव संसार उपन्यासको सुरुमा लेखक स्वयम् आन्तरिक केन्द्रीय दृष्टिबिन्दुका रूपमा म पात्र भएर उभिएका छन् । त्यसपछि परिवर्तनाद्वारा लिखित आत्मवृतान्त पनि लेखकद्वारा पढ्न थालेपछि म पात्रका रूपमा परिवर्तना देखापरेकीले प्रथम पुरुष देष्टिबिन्दु रहेको देखिन्छ । उपन्यासको उत्तराद्धमा भने बाह्य तृतीयपुरूष दृष्टिबिन्दुमा कथानक अगाडि बडेको छ । यसरी विवेच्य उपन्यासमा दृष्टिबिन्दुको परिवर्तनले मानव संसारको स्तर भने खस्किएको छैन ।
७. परिवेश
मानव संसार मूलतः जनआन्दोलनको पृष्ठभूमिमा सृजित उपन्यास हो । उपन्यासको समयावधि लगभग सय वष भए तापनि मूल रूपमा धेरै घटनाहरू २०६२÷६३ सालको छेउछाउमा घटेका छन् । त्यसैले प्रस्तुत उपन्यास नेपाली परिवेशमा सृजित उपन्यास हो । छिटपुटरूपमा अमेरिका, बेलायत, जर्मन, हङ्कङ्, फ्रान्स आदि देशहरूको मनोरम दृश्य पनि उपन्यासका परिवेशमा आएका छन् । प्रस्तुत उपन्यासमा नेपालका राजनैतिक पार्टीहरूका बीचमा हुने विश्वासघात, छलकपट, शक्ति हत्याउन खेलिने फोहोरी खेल आदि पनि परिवेशका रूपमा आएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको रमणीय चित्रण भएको यस उपन्यासमा हिमाल, लेक, पाहाड, तराई लगायत नेपालको सुन्दर प्राकृतिक सौन्दर्यलेयुक्त परिवेशको चित्रण यस उपन्यासमा भएको छ । विवेच्य उपन्यासमा बृद्धाहरूको मानसिक अवस्थाको चित्रण पनि गरिएको छ । बृद्धाहरूमा पनि आफू केहीगर्न सक्छु भन्ने हिम्मत हुनु तर उनीहरूका छोराछोरी एवम् आफन्त जनहरूबाट तिरस्कार गरिने प्रवृत्तिको बिरोध गरिएको छ । यस उपन्यासमा वृद्धाश्रमको परिवेश मात्र नभएर बाल आश्रमका उज्ज्वल भविष्यका नक्षेत्रहरूको परिवेश पनि समेटिएको छ ।
८. सारवस्तु
मानव संसार मानव प्रेममा आधारित उपन्यास हो । यस उपन्यासको सुरुदेखि अन्त्यसम्मै प्रेमकै सेरोफेरोमा कथानक अगाडि बढेको छ । उपन्यासमा आमाबाबुले छोराछोरीहरूमा गरिने प्रेम, शिक्षकबाट छात्रामा हुने प्रेम अथवा छात्राले आफ्ना गुरुप्रति गरिने प्रेम, नागरिकमा देशप्रति हुने प्रेम अथवा जवान केटाकेटीहरूले एक अर्कोमा गर्ने प्रेम, पति–पत्नीका बीचमा हुने प्रेम, साथीले साथीलाई गर्ने प्रेम जस्ता विषयवस्तुमा उपन्यास सृजित भएको छ । यसरी उपन्यासमा प्रेमबीनाको जीवन निरस, भयावह, कष्टकर, अन्धकारयुक्त, एवम् असफल हुन्छ भन्ने विषयवस्तु पुष्टि गर्नका निमित्त उपन्यासकारले विभिन्न प्रसङ्गहरू ल्याएका छन् । नारीलाई बढी महŒव दिएर लेखिएकको यस उपन्यासमा अवसर पाएमा नारीहरू सामाजिक संघ संस्था खोलेर मानव सेवा गर्न देशविदेश घुम्न, सगरमाथा चढ्न मात्र होइन प्रधानमन्त्री जस्तो गरिमामामय पदमा रहेर पनि देश सेवा गर्न पछि पर्दैनन् भन्नेकुरा देखाउनु नै यस उपन्यासको मूल उद्देश्य हो ।
मानव संसार उपन्यास बृद्धाहरूका निमित्त बृद्धाश्रम अति आवश्यक हुन्छ भन्ने सारवस्तुमा लेखिएको उपन्यास हो । प्रस्तुत उपन्यास समय वित्तैजाँदा मानिस बूढो हुँदै जान्छ र बुढेसकाल पनि हरेक मान्छेले सक्रिय भएरै बिताउने योजना बनाउनुपर्छ भन्ने सन्देश दिंदै लेखिएको छ । आजको नयाँ युगमा आधुनिक युवायुवतीहरू धेरैजसो पश्चिमी सभ्यता र संस्कृतिबाट प्रभावित हुँदै आएका भेटिन्छन् । यो पिंढीका धेरैजसो युवायुवतीहरू अघिल्लोे पुस्ताका मान्यजनसँग बस्नुभन्दा उनीहरू टाढा स्वतन्त्र भएर बस्न रूचाउँछन् । उनीहरू आफ्ना वृद्धा आमाबाबुको रेखदेख अरू कसैले गरिदिए हुन्थ्यो भन्ने चाहना राख्ने हुन्छन् । वृद्धाश्रममा वृद्धहरूका बीचमा विभिन्न कार्यक्रम भइरहने हुनाले उनीहरूको जीवन रमणीय रूपमै बितेको हुन्छ । त्यसैले हरेक मानिसले उमेरमै आफू बस्ने वृद्धाश्रम सुविधासम्पन्न बनाउन सहयोग गर्नुपर्छ भन्ने उद्देश्यराख्तै यो उपन्यास लेखिएको छ । मानव संसार उपन्यासमा पनि परिवर्तनाद्वारा आधुनिक सुविधा सम्मपन्न वृद्धाश्रम खोलेर वृद्धहरूलाई सन्तुष्टी दिएकी छ । अतः वर्तमान अवस्थामा वृद्धाश्रम अनिवार्य आवश्यकता छ भन्ने सारवस्तुमा उपन्यास लेखिएको छ (पाण्डे, २०६७ ः ८४) ।
नारीहरू पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने. सारवस्तुमा मानव संसार उपन्यास लेखिएको छ । उपन्यासमा दुब्ली, नाङ्गी, मैली, फोहोरी, जिङ्रिङ्ग कपाल भएकी, घीनलाग्दी बालिका खिनौरी यायावरको सहायताले परिवर्तना हुन पुग्छे । उसले जीवनमा विभिन्न सङ्घर्ष गर्दै अगाडी बढ्ने क्रममा ऊ सर्वोच्च शिखर सगरमाथा चढ्न सफल हुनुका साथै उपप्रधानमन्त्री एवम् प्रधानमन्त्री हुन र बृद्धाश्रम स्थापना गर्न पनि सफल हुन्छे । आफ्नो जीवनसाथीको मृत्युका कारण उत्पन्न शोकलाई शक्तिमा बदल्दै अगाडी बढ्ने परिवर्तनाको भूमिका नारीहरूका निमित्त उत्प्रेरणा बनेको छ ।
मानव संसार २०६२÷६३ तिरको नेपालको राजनैतिक अवस्थालाई चित्रण गर्ने उपन्यास हो । विवेच्य उपन्यासमा नेपालको जनआन्दोलन र त्यस आन्दोलनमा सरकारको तर्फबाट आन्दोलनकारीहरूमा गरिएको अमानवीय व्यवहार, राजनैतिक पार्टीहरूको निजी स्वार्थी मनोवृत्ति, सत्तामा पुग्ने गणितीय खेल, हत्या, आतङ्क, अत्याचार आदिको यथार्थरूपमा चित्रण गर्नु पनि यस उपन्यासको उद्देश्य रहेको छ । यस्तो सङ्क्रमणकालीन राजनैतिक अवस्थामा पनि परिवर्तना सफल प्रधानमन्त्री भएकी हुँदा नेपालको राजनैतिक भविष्य उज्ज्वल देख्ने उपन्यासकार राजनीति ठीक भएपछि मात्र सामाजिक, आर्थिक, सांस्कृतिक पक्षहरू ठीक हुने कुरामा विश्वस्त छन् । यस उपन्यासमा हत्या, हिंसा आदिको विरोध गर्नुका साथै तत्कालीन राजदरवारमुखी राजनीतिको पनि विरोध गरिएको छ । विवेच्य उपन्यासमा राजनैतिक घुसपैठ नेताहरूमा भएको स्वार्थी प्रवृत्ति, पश्चिमी सभ्यताबाट प्रभावित भएर खोलिएको वृद्धाश्रम अन्तरजातीय विवाहको समर्थन, नरीहरूको सङ्घर्षमय जीवन, समाजमा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, नारीहरू एक जुट भएर अगाडि बढ्ने सन्देश आदि विषयवस्तु पनि यस उपन्यासमा आएका छन् ।
९. भाषाशैली
भावको सम्प्रेशण गर्ने माध्यमनै भाषा हो र शैली उद्देश्य प्राप्तिका निमित्त अपनाइने रचनात्मक विधि हो । मानव संसारको भाषशैली वर्णनात्मक किसिम कै भए तापनि यसमा केही नवीन प्रवृत्तिहरू पनि अपनाइएको छ । पात्रहरूको चरित्रचित्रण गर्ने सन्दर्भमा मूलतः स्मृतिशृङ्खलाले नै महŒव पाएको छ । उपन्यासमा आवश्यकता अनुसार उपन्यासकारको विश्लेषणात्मक एवम् तार्किक टिप्पणी र घटनाको नाटकीकरणको निमित्त संवादको प्रयोग पनि छ । उपन्यासका कतिपय घटनाहरूलाई कविताका माध्यमबाट पनि अभिव्यक्त गरिएको छ । सन्दर्भ सुहाउने गरी नेपाली उखानटुक्काहरूको प्रयोगले गर्दा उपन्यास मार्मिक बनेको छ । सहज सरल एवम अनुकरणात्मक भाषाको प्रयोगले गर्दा उपन्यास सर्वसाधारण पाठकका निमित्त पनि बोधगम्य बनेको छ । विवेच्य उपन्यास विभिन्न खण्डमा विभाजित छैन । उपन्यासकारले उपन्यासको अन्त्यमा उपसंहार दिएर उपन्यास टुङ्ग्याएका छन् । उपन्यासमा एउटा प्रसङ्ग सकिएपछि तीनवटा ८ ८ ८ चिन्ह दिइन्छ । राईले केहीआफ्नै मातृभाषका शब्दहरू प्रयोग गरेर स्थानीयताको रङ्ग पनि दिएका छन् । नेपाली मै प्रशस्त शब्द हुँदाहुँदै मेसेजजस्ता अङ्ग्रेजी शब्दहरूको प्रयोग गर्नुका साथै स्वार्थी नेताहरूको व्यक्तिŒवलाई घिनलाग्दो वस्तुसँग तुलना (राई, २०५६ ः १०९) भएका प्रसङ्गहरू भने उपन्यासका सीमा हुन् । अपवादका रूपमा यस उपन्यासमा आउने एकाध प्रसङ्गलाई छाडिदिने हो भने समष्टिगत रूपमा प्रगतिवादी मूल्यका दृष्टिले मानव संसार ओजपूर्ण छ । भविष्यमा उपन्यासकारका अझ मूल्यवान उपन्यासहरू पाठकले पढ्न पाउँने छन् भन्ने आशा गर्न सकिन्छ ।
१०. निष्कर्ष
समग्रमा भन्नुपर्दा मानव संसार उपन्यासमा शान्तिदेखि क्रान्तिसम्म, शहरदेखि गाउँसम्म, हिमालदेखि तराईसम्म, विदेश भ्रमणदेखि सगरमाथाको आरोहणसम्म, सामन्त शोषकदेखि श्रमिक मजदुर किसानसम्म, व्यक्ति मान्छेदेखि समाजमान्छे सम्म, नोकरदेखि प्रधानमन्त्रीसम्म, व्यक्तिआश्रमदेखि सार्वजनिक वृद्धाश्रमसम्म, प्राकृत जगतदेखि मानवजगतसम्मका विषयवस्तु समेटिएका छन् । यस आलोचनात्मक यथार्थवादी उपन्यासमा शोषण, दमन, अन्याय, अत्याचार, ढिलासुस्ती, भ्रष्टाचार, हिंसा, हत्या, आतङ्क, अशान्ति, युद्ध, जातीय, वर्गीय, असमानताको यथार्थ चित्रण छ । प्रगतिवादी मूल्यका दृष्टिले समाजवादी यथार्थतर्फको उन्मुखता, वर्गीय प्रेमजस्ता विषयवस्तुमा सिर्जना भएको यो उपन्यास भविष्यप्रति आशावादी छ ।
सन्दर्भग्रन्थसूची
गौतम, देवीप्रसाद.२०४९, प्रगतिवाद ः परम्परा र मान्यता. काठमाडौं ः श्रीमती मुना गौतम.
दाहाल, खेमनाथ. २०६६ “मानव संसार उपन्यासको सन्दर्भ”. मर्निङ टाइम्स ७÷२०.
(धरानः श्रवण ९ गते). पे. २
पाण्डे, हरिलाल. २०६७ “सरण राईको आख्यानकारिता” (अप्रकाशित स्नातकोत्तर शोध प्रबन्ध.
धरान ः नेपाली विभाग).
पोखरेल, भोलानाथ. २०६४ “आधुनिक नेपाली सामाजिक यथार्थवादी उपन्यासको पात्रविधान”. (अप्रकाशित विद्यावारिधि शोध–प्रबन्ध. कीर्तिपुर ः मानविकी तथा सामाजिकशास्त्र संङ्काय.).
बराल, नोदनिधि. २०६८ “सरण राईको निबन्धकारिता”. (अप्रकाशित स्नातकोत्तर शोध प्रबन्ध.
धरान ः नेपाली विभाग).
राई, सरण. २०६५ मानव संसार. धरान ः उपयोगी प्रकाशन.
लुकास, जर्ज. २०३१ जर्ज लुकासको साहित्यिक सिद्धान्त. (अनु.), लीलाप्रसाद शर्मा. काठमाडौं ः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान.
सुवेदी, कमल. २०६६“फरक विषयवस्तुको उपन्यास”. मधुपर्क ४२÷७ (काठमाडौं ः मङ्सीर). पे. १६.
सुवेदी, राजेन्द्र. २०५३ नेपाली उपन्यास परम्परा र प्रवृत्ति. वाराणसी ः भूमिका प्रकाशन
.Oskar,E.M.1953, Aspects of the Novel.(Reprinted) London, Edward Arnold and Co.
संस्कृति , वर्ष ९ ( रजत वर्ष विशेषांक ), चैत्र २०६९
* * *